मुनामदनमा प्रतिबिम्बित जीवनदृष्टि
डिल्लीराज भट्टराई
बहुमुखी प्रतिभाका धनी लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) नेपाली साहित्यका स्वच्छन्दतावादी प्रगतिवादी धाराका अग्रणी कवि एवं विशिष्ट साधक हुन्। उनको मूल साधनाक्षेत्र कविता भए पनि यिनले नेपाली साहित्यका कथा, निबन्ध, नाटक, उपन्यास जस्ता प्रसिद्ध विधाहरुमा समेत सशक्त रुपमा कलम चलाएका छन् । यसै गरी कवितातर्फ उनले असंख्य फुटकर कविता, दर्जनौं खण्डकाव्य र महाकाव्यको रचना गरी आफ्नो विलक्षण प्रतिभाको परिचय दिएका छन्। १९९२ देखि २००६ सालसम्ममात्र देवकोटात २० वटा खण्डकाव्य लेखेको पाइन्छ । उनका श्रेष्ठ खण्डकाव्यहरुमा ‘लुनी, ‘मैना’ ‘मायाविनी’ ससी’ ‘वसन्ती’ सृजामाता’ र कुञ्जिनी पर्दछन् । १९९२ सालमा पुस्तकाकार रुपमा प्रकाशित ‘मुनामदन’ खण्डकाव्य नै देवकोटाको पहिलो कृति हो र उनलाई चर्चाको शिखरमा पुयाउने अमर रचना समेत हो । यस कृतिले एकातर्फ आख्यानात्मकतालाई अँगालेको छ भने अर्कातिर कविको कवित्वलाई पनि उजागर गरेको छ । यसै ‘मुनामदन’ खण्डकाव्यका आधार मामात्र पनि देवकोटा उच्चकोटिका खण्डकाव्यकार सावित भएका छन् । अजस्र प्रतिभाका धनी देवकोटा जस्ता सशक्त प्रतिभाद्वारा रचित मुनामदन गीतिकाव्यका वारेमा कलम चलाउन खोज्नु सूर्यलाई बत्ती देखाउनु जस्तै हो, तैपनि यस कृतिका अन्य पक्षलाई छाडेर यस लेखमा ‘मुनामदनमा प्रतिविम्बित जीवनदृष्टिका बारेमा संक्षिप्त विवेचना गर्ने जमको गरिएको छ ।
लक्ष्मीप्रसाद देवकोटा एक महान् स्वच्छन्दतावादी कवि हुन् र सिङ्गो स्वच्छन्दवादी अंग्रेजी साहित्यको प्रभाव महाकवि देवकोटामा परेको छ । अंग्रेजी साहित्यका कविद्वय वर्डस्वर्थ र कलरिजले लिरिकल ब्यालेडबाट रोमाण्टिक कवित्वलाई अंग्रेजी साहित्यको धरातलमा भित्र्याए जस्तै विक्रमको बीसौं शताब्दीको अन्तिम दशकको पूर्वार्धमा ‘मुनामदन’ (१९९२) बाट महाकवि देवकोटाले नेपाली कवितामा रोमान्टिक धारालाई आमन्त्रण गर्ने र विकसित गर्ने काम गरे। रुसोको प्रकृतितर्फ फर्कको स्वतन्त्रता, समानता र भ्रातृत्वको सिद्धान्तबाट देवकोटाको स्वच्छन्दतावादी चेतनाको निर्माण भएको छ । उनको स्वच्छंदतावादी चिन्तनमा कल्पना र भावसत्यको सर्वोपरिता रहेको पाइन्छ र त्यस विचारमा पनि प्रकृतिको केन्द्रीय भूमिका रहेको छ। उनका खण्डकाव्यहरुमध्ये उच्चतम प्राप्ति मानिने यस खण्डकाव्यमा प्रतिविम्बित उनको जीवनदृष्टि स्वच्छन्दतावादी मानवतावादी रहेको छ।
उनले प्रकृति र ईश्वरका माध्यमबाट मानवीय समानता र भ्रातृत्वको पर्याप्त गीत यसमा गाएका छन् । देवकोटा सहर भएर गाउँतिर र सरल सहज जिन्दगानीतिर फर्कदै स्वतन्त्रताको चेतनालाई ध्वनित गर्दछन्। कालुष्यपूर्ण यान्त्रिक सहरी जीवन भन्दा प्रकृतिमै विचरण गर्ने निष्कल आदर्श भोटेको जीवनलाई उनले उत्तम ठहर्याउँदै भनेका छन् :
‘भेटावा उनको विछौना नरम ओढ्नलाई पाखी छ ।
त्यहाँको जीवन बैकुण्ठजस्तो उनको लागि छ ।’
यसरी स्वच्छन्दतावादी कविहरु प्रकृतितिर फर्कको सन्दर्भमा भन्दा सहरी सभ्यता र कृत्रिम संस्कृतिबाट टाढा हुन चाहन्छन् र सहरको दूषित, निश्छल ग्रामीण जीवनमा उनीहरुको चाहना हुन्छ यो दृष्टि यहाँ पनि देवकोटा प्रस्तुत गर्दछन् :
‘मुस्कानमा छैन मान्छेको छुरी वचनमा छैन विष
हावामा छैन दूषण केही, मनमा राग रिस ।
नक्कली ज्ञान पोथीका मन्दा, फूल-पाना हँसिला
रहिला पत्र प्रवेतिदेवी उल्टन्थिन रसिला ।’
देवकोटाका दृष्टिमा प्रतिजीवनका लागि सबभन्दा असल शिक्षालय हो र प्रकृतिमै ईश्वर स्फुटित हुनुका साथै सक्कली मानवताको बोध हुन्छ भन्दै उनी प्राकृतिक संस्कारमा देखा पर्छन। उनी प्रकृतिका शीतका दानामा ईश्वर टल्केको देख्न चाहन्छन्, रङ्गीन पंक्षीका गानामा ईश्वर बोलेको सुन्छन्, फूलको बोटबाट मान्छेले ज्ञान प्राप्त गर्दछ भन्दछन् ।
जस्तै: ईश्वरको ज्योति टल्कन्थ्यो त्यही शीतका दानामा
क्या बोल्थ्यो ईश्वर पंथेस्बाट रङ्गीन गानामा
फूलकोबोट उम्रेको हेरी मान्छेले पाउंथ्यो ज्ञान
सुधेर बास्ना लाभै आत्मा भोग्दथ्यो क्या निर्वाण ।
यहाँ देवकोटा ईश्वरीय सत्ता स्वीकार गर्ने हिन्दू वा पूर्वीय आस्तिक दर्शनका पक्षघरका रुपमा देखा परेकाछन् । स्रष्टाको विशाल सृष्टिमा नजरका जुहारहरुमा अनेक रचनाहरु वा सृजनाहरुमध्ये मानिस ईश्वरको हाँसो पाएको फूल हो “ईश्वर को हाँसो पाएमा फूल छोएर नमार” भन्दै ईश्वरको हाँसो पाएको फूलका रुपमा देवकोटाले मान्छेलाई हेरेका छन् । उनका दृष्टिमा पैसा भन्नु तुच्छ कुरा हो । पहिले देवकोटाले पदलोलुप मदन र धनलाई हातको मयल सझिने मुनाका वीचको द्वन्दमा भौतिकवाद र आदर्शवादका वीचको द्वन्द प्रस्तुत गरेका छन् । अन्तमा च्याङ्वाको निष्कलङ्क स्वच्छ प्राकृतिक जीवनको तर्फबाट धनको तुच्छतालाई प्रकट गरेका छन् । देवकोटाको मुखपात्रका रुपमा आएको च्याङवा भन्दछ :
‘यो केटाकेटी खाँदैन सुन लाउँदैन गहना आकाशमाथि जहान मेरो बादल छ गहना।’ मानिस जातले ठूलो हुँदैन र विशाल छातीले मात्र मान्छे महान बन्न सक्छ भन्ने आफ्नो दृष्टिकोणलाई देवकोटाले निम्नानुसार प्रस्तुत गरेका छन् मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । अन्तमा देवकोटाले संसारलाई सुखदुःखको क्रीडाभूमि बनाएका छन् र जीवनमा पुरुषत्वको आह्वान गर्दै कर्मवादलाई स्वीकार गरेका छन् ।
‘कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद’
यसरी रोमान्टिक मानवतावाद नै यस खण्डकाव्यमा देवकोटाको जीवनदृष्टि हो । यद्यपि उत्तरवर्ती देवकोटाको स्वर स्वच्छन्दतावादी प्रगतिवादी रुपमा प्रकट भएको छ । रुसोको भ्रातृत्व, समानता र स्वतन्त्रता भन्ने प्रकृतितिर फर्कबाट उत्प्रेरि त सिद्धान्तलाई शिरोपर गर्दै देवकोटाले प्रकृतिलाई नै ज्ञानको स्रोत मानेका छन् । प्रकृतिमै ईश्वरको हाँसो प्राप्त हुने कुरा उल्लेख गरेका छन् । सहरी सभ्यताभन्दा धनहीन प्राकृतिक सहज सरल र निश्छल जीवनतर्फ उन्मुख मानवतावादी दृष्टि नै मुनामदनमा प्रतिबिम्बित देवकोटाको खास दृष्टि हो । यसरी देवकोटा उच्च चेतना भएका महान मानवतावादी कवि हुन् र ‘मुनामदन’ उनको अमर काव्यकृति हो । ‘मुनामदन’ मात्र राखेर अरु मेरा सबै कृतिहरु उढालिदिनू भन्ने देवकोटाको अन्तिम अभिव्यक्तिले पनि यो उनको उच्चकोटिको काव्य हो भन्ने कुरा सावित हुन्छ ।
प्रमुख सन्दर्भ सूची
१. जोशी, कुमारबहादुर कविता चर्चा
२. पौड्याल, हीरामणि समालोचनाको बाटोमा
३. त्रिपाठी, वासुदेव नेपाली कविताको सिंहावलोकन
First Published by Rupandehi Campus in वार्षिक मुखपत्र साधना Volume 3, 2059 (BS)